
काठमाडौं । नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ कात्तिक १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट पदोन्नति भएका पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको छ।
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्गले सोमबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक समारोहका बीच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको हो।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा भूपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अबिनारायण काफ्ले रहेका छन्।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङ्गले दर्ज्यानी चिन्ह प्राप्त प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै, राष्ट्र, जनता र संगठनप्रति देखाएको इमानदार योगदानको उचित मूल्याङ्कन स्वरूप पदोन्नति भएको बताए। उनले परम्परागत सोच र कार्यशैलीलाई समयअनुकूल परिवर्तन गर्दै व्यावसायिक, इमानदार र कर्तव्यनिष्ठ प्रहरीको छवि बलियो बनाउन आग्रह गरे।
आईजीपी खापुङ्गले हालको संवेदनशील परिस्थितिमा प्रहरी कमाण्डरको भूमिका केवल प्रशासनिक नभई नैतिक, रणनीतिक र प्रेरणादायी हुनुपर्ने बताउँदै, आगामी दिनमा देखापर्न सक्ने चुनौतीहरूको सामना गर्न उच्च मनोबलका साथ जनसेवा प्रवाह गर्न निर्देशन दिए। साथै सूचना संकलन, विश्लेषण, रणनीतिक समन्वय र प्रभावकारी प्रहरी परिचालनलाई प्राथमिकता दिँदै कानुन कार्यान्वयनमा कुनै सम्झौता नगर्न आग्रह गरे।
पदोन्नति प्राप्त अधिकृतहरूको तर्फबाट प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीले संगठनले गरेको भरोसा, अपेक्षा र विश्वासलाई कायम राख्दै नेपाल प्रहरीको गौरव र प्रतिष्ठा बढाउने गरी कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे।
दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकारी तथा जवानहरूको उपस्थिति थियो।



