
काठमाडौं । नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी) पदका ६ दरबन्दी रिक्त भएका छन्। डीआईजी बढुवाका लागि भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्ले सिफारिस भएपछि ५ एसएसपी पद खाली भएका थिए। त्यसमाथि बुधबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी प्रकाश रानाभाटले राजीनामा दिएपछि रिक्त संख्या ६ पुगेको हो।
रिक्त पदहरू भर्न बढुवा सिफारिस समितिले गृहकार्य सुरु गरेको छ। बढुवा सिफारिस भएका डीआईजीहरूले दर्ज्यानी चिह्न लगाइसकेपछि र रानाभाटको राजीनामा औपचारिक रूपमा स्वीकृत भएपछि एसएसपीमा बढुवा प्रक्रिया अघि बढाइने तयारी छ।

बढुवा सूचीको पहिलो नम्बरमा बिमल बस्नेत छन्। उनी २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भई पछि नेपाल प्रहरीमा स्थानान्तरण भएका अधिकृत हुन्। बस्नेत यसअघि पनि पटक–पटक बढुवाबाट वञ्चित हुँदै आएका थिए।
गत साउन ५ गते बढुवा सिफारिस समितिले ११ जना एसपीलाई एसएसपीका लागि सिफारिस गर्दा बस्नेत छुटेका थिए। सो सूचीमा तुलबहादुर कार्की, राकेश सिंह, राजीवबहादुर बस्नेत, कमल थापा, प्रवीण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्रप्रसाद फुयाल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाल सिफारिस भएका थिए।
बस्नेतपछि दोस्रो नम्बरमा रामप्रकाश शाह छन्, जो २०५५ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि प्रहरीमा स्थानान्तरण भएका हुन्।
त्यसपछि २० माघ २०७७ मा एसपी पदमा पदोन्नति भएका अधिकृतहरू बढुवाको प्रतिस्पर्धामा छन्। तीमध्ये भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्याम सिंह चौधरी, नहकुल पोखरेल, पदमबहादुर विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलिप घिमिरे र वीरेन्द्रबहादुर शाही रहेका छन्।
यी १७ प्रतिस्पर्धीमध्ये ६ जना मात्रै एसएसपीमा बढुवा हुनेछन् भने बाँकीले यथावत् एसपीकै हैसियतमा सेवा दिनेछन्।



