
दाङ — जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते जिल्ला अदालत घोराहीमा भएको आगजनी र तोडफोडबाट अदालतलाई जोगाउन महत्वपूर्ण भूमिका खेलेकी प्रहरी सहायक हवल्दार संगिता अधिकारीलाई सम्मान गरिएको छ।
जिल्ला अदालतले बिहीबार एक कार्यक्रम आयोजना गरी अधिकारीलाई पाँच हजार रुपैयाँ नगदसहित कदरपत्र प्रदान गर्दै सम्मान गरेको हो।

आन्दोलनका क्रममा अदालतमा तोडफोड र आगजनी गर्ने प्रयास भइरहेका बेला अधिकारीले प्रदर्शनकारीलाई सम्झाइबुझाइ गरी फर्काउने प्रयास गरेकी थिइन्। उनको सक्रियताका कारण अदालतका महत्त्वपूर्ण कागजात र संरचना जोगिएका थिए।
सन् २०८१ साउनदेखि अदालतको सुरक्षामा खटिएकी अधिकारीले भनिन्, “आफैं खटिएको कार्यालय जल्दै गरेको हेर्न सकिनँ। कर्तव्य र जिम्मेवारी सम्झेर अन्तिम क्षणसम्म पनि जोगाउने प्रयास गरेँ।”
उनको साहस, कर्तव्यनिष्ठा र पेशागत प्रतिबद्धताको उच्च प्रशंसा गर्दै अदालतका अधिकारीहरूले उनलाई प्रहरी सेवाको गौरव बनेको बताएका छन्।



