जेन-जी आन्दोलनमा प्रहरीमाथि ठूलो आक्रमण : ६१० घाइते, तीनको मृत्यु, ३४६ सवारी साधन जले

काठमाडौं । २३ र २४ भदौमा भएको जेन-जी पुस्ताको आन्दोलनले देशको सुरक्षा संयन्त्रमा अभूतपूर्व क्षति पुर्‍याएको छ । प्रहरीका तथ्यांकअनुसार उक्त आन्दोलनमा ६ सय १० जना प्रहरी घाइते भएका छन् । नेपाल प्रहरीका तीन सय ८४ र सशस्त्र प्रहरी बलका दुई सय २६ जना घाइते भएका हुन् । तीमध्ये नेपाल प्रहरीका ६४ र सशस्त्र प्रहरीका पाँच जना अझै अस्पतालमा उपचाररत छन् ।

सो आन्दोलनमा प्रहरी प्रत्यक्ष निसाना बनेका थिए । बानेश्वर क्षेत्रमा आन्दोलनकारीले ढुंगामुढा गर्दा प्रहरी घाइते भए भने २४ भदौमा त आन्दोलनकारीले सिंगो प्रहरी कार्यालय कब्जा गरेर कुटपिटसमेत गरेका थिए । बागमती नदीमा हुलेर प्रहरीलाई ढुंगासमेत हानिएको थियो । आन्दोलनका क्रममा तीन प्रहरीले ज्यान गुमाएका थिए ।

आन्दोलनकारीले काठमाडौं उपत्यकाका अधिकांश प्रहरी कार्यालयमा आगजनी गर्दै प्रहरीका पोसाक र हतियारसमेत लुटेका थिए । यस्तै, प्रहरीको सवारी साधनतर्फ पनि ठूलो क्षति भएको छ । काठमाडौं उपत्यकामा मात्रै ३४६ वटा प्रहरी सवारी साधन जलाइएका छन् । रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार क्षतिग्रस्त सवारीमध्ये २४ वटा हेभी सवारी, १०४ वटा लाइट चारपांग्रे र २१८ वटा दुईपांग्रे मोटरसाइकल रहेका छन् ।

सवारी साधन जलेपछि दैनिक प्रहरी सेवामा समेत असर परेको प्रहरी अधिकारीहरूले बताएका छन् । तथापि, केही संस्थाहरूले प्रहरी चौकी तथा बिटहरूलाई मोटरसाइकल सहयोग गर्न थालेका छन् ।

यति ठूलो क्षति हुँदाहुँदै पनि प्रहरी उच्च मनोबलका साथ फिल्डमा खटिइरहेको छ । सुरक्षाकर्मीहरूको यो साहस र समर्पणलाई सर्वत्र प्रशंसा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय