सुरक्षा सरोकार — प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले अपराधी तत्वबाहेक अरू कसैले पनि प्रहरीलाई विस्थापित गर्न नसक्ने दृढ विश्वास व्यक्त गरेका छन्। सोमबार (भदौ ३०) नेपाल प्रहरीको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको सन्देशमा उनले भनेका छन्, “प्रहरीलाई विस्थापित गर्न खोज्ने अपराधी मात्रै हुन् भन्ने हाम्रो विश्वासमा थप दृढता बढेको छ।”

आईजीपी खापुङले हालैको ‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरी कार्यालय, सवारी साधन र पोसाक जलाईएको घटनाले नियमित कार्यसम्पादनमा कठिनाइ थपिएको उल्लेख गरे। उनका अनुसार प्रहरी संरचना र स्रोतसाधनमा क्षति पुगे पनि संगठनको मनोबल भने ढलेको छैन। बरु, समुदायको साथ र सद्भावले प्रहरीको आत्मबल अझै बढ्दै गएको छ।

उनले भने, “समाजलाई सुरक्षित राख्ने जिम्मेवारी हामीबाट कसैले खोस्न सक्दैन। अपराधीहरूले अस्थायी रुपमा चुनौती सिर्जना गर्न सक्छन्, तर प्रहरी सेवाको मूल आधार नै समुदायको विश्वास र समर्थन हो। यही कारणले हामी अझ सबल भएर अघि बढिरहेका छौं।”

प्रदर्शनपछिका कठिन परिस्थितिमा प्रहरी कार्यालयहरू पुनःनिर्माण गर्न स्थानीय समुदायले दिएको सहयोग र आत्मीयताको उनले उच्च प्रशंसा गरे। उनका अनुसार समुदायबाट पाइएको हातेमालोले प्रहरीलाई आफ्नो जिम्मेवारी अझ प्रभावकारी ढंगले निर्वाह गर्न ऊर्जा प्रदान गरेको छ।

आईजीपी खापुङले प्रहरीको ध्येय, मुलुकमा शान्ति–सुरक्षा कायम गर्ने मूल दायित्व र अपराध नियन्त्रणका क्षेत्रमा कुनै सम्झौता नगर्ने दृढता पनि व्यक्त गरे। उनले थपे, “प्रहरी जनताको सुरक्षाका लागि हो, र जनताको साथमा नै प्रहरी अझ बलियो हुन्छ। अपराधविरुद्धको यो साझा लडाइँमा समुदाय र प्रहरीबीचको सहकार्य नै भविष्यको आधार हो।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय