
सुरक्षा सरोकार — २०८२ साल भदौ २३ र २४ गते देशव्यापी रुपमा भड्किएको आन्दोलनले नेपालको सुरक्षा संयन्त्रलाई अभूतपूर्व संकटमा धकेल्यो । प्रहरी कार्यालय मात्र होइन, सवारीसाधन, फर्निचरदेखि सिपाहीका लत्ताकपडा समेत जलाइए । राष्ट्रका सुरक्षासँग गाँसिएका संरचनाहरू ध्वस्त पारिए, जसले सम्पूर्ण मुलुकलाई स्तब्ध बनायो ।
पशुपतिनगर : एउटा अपवाद —

तर, यसैबीच मकवानपुर जिल्ला अन्तर्गतको इलाका प्रहरी कार्यालय (इप्रका) पशुपतिनगर र यस मातहतका चौकीहरू भने सुरक्षित रहन सफल भए । इतिहासले प्रमाणित गरेको छ—जहाँ प्रहरी र समुदायबीच विश्वास र सहकार्य हुन्छ, त्यहाँ विनाशकारी शक्ति निष्प्रभावी हुन्छ । पशुपतिनगर यसको जीवन्त उदाहरण बनेको छ ।
प्रहरी निरीक्षक विमला कुमारी कठायतको दूरदृष्टि —
प्रहरी निरीक्षक विमला कुमारी कठायतको संयमित नेतृत्व, रणनीतिक सोच र प्रहरीहरूको अनुशासनले यस सफलताको आधार तयार गर्यो । कठायतले विगतदेखि नै स्थानीय समुदायसँग विश्वासपूर्ण सम्बन्ध विकास गरेकी थिइन् । यही कारण, आन्दोलन भड्किँदा स्थानीय बासिन्दाहरू प्रहरीसँगै उभिए । “प्रहरी मेरो साथी” भन्ने अवधारणा व्यवहारमै कार्यान्वयन भयो ।
इप्रका पशुपतिनगर मातहतमा पर्ने हेटौंडा उपमहानगरपालिकाका १० वडामा हेटौंडा औद्योगिक क्षेत्र, हेटौंडा सिमेन्ट, शिवम सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट उद्योगजस्ता ठूला उद्योगहरू रहेका छन् । प्रदेश मन्त्रीहरूको निवाससमेत यहीं पर्छ । पदमपोखरीजस्तो अपराधजन्य गतिविधिका लागि कुख्यात क्षेत्र पनि यही मातहतमा पर्दछ ।
यस्तो संवेदनशील ठाउँमा आन्दोलनकारीले उद्योग, मन्त्री निवास र प्रहरी कार्यालयमा आक्रमण गर्ने प्रयास गर्दा कठायतले “यो सम्पत्ति तपाईहरुकै हो” भन्ने चेतनामूलक अपिल गर्दै संयमता देखाइन् । परिणामस्वरूप सम्भावित ठूलो विनाश टर्यो ।
२०८२ भदौ २४ गते बिहानै आन्दोलन सुरु हुनासाथ कठायतले सबै प्रहरीलाई उच्च सतर्कतामा राखिन् । कार्यालयका प्रत्येक भौतिक सामग्री र हतियार प्रहरीहरूलाई व्यक्तिगत जिम्मेवारीसहित हस्तान्तरण गरियो । आन्दोलनकारी मन्त्री निवासमा छिर्न खोज्दा सम्झाइ–बुझाइ गरेर फर्काइयो । यसरी, प्रहरी कार्यालय मात्र नभई उद्योग, मन्त्री निवास र समुदाय समेत सुरक्षित राख्न सकिनु, सम्पूर्ण सुरक्षा संयन्त्रकै गौरवको विषय हो ।
समुदाय–प्रहरी सहकार्यको वास्तविकता
यस घटनाले प्रष्ट देखायो—समुदाय र प्रहरीबीचको विश्वास, सहकार्य र साझेदारी नै वास्तविक सुरक्षा हो । जब प्रहरी नागरिकसँग मिलेर काम गर्छ, प्रहरी कार्यालय मात्र होइन, सम्पूर्ण समाज सुरक्षित रहन्छ ।
हेटौंडा उपमहानगरपालिका–१५ को वडा कार्यालयमा सामान्य भौतिक क्षति भए पनि, इप्रका पशुपतिनगर मातहतका आठवटा प्रहरी कार्यालयहरू पूर्ण रूपमा सुरक्षित रहनु, निरीक्षक कठायतको दूरदर्शी नेतृत्वकै परिणाम हो ।
यस्तो असाधारण योगदानलाई केवल समाचार वा जनश्रुतिमा सीमित राखेर पुग्दैन । नेपाल सरकारले प्रहरी निरीक्षक कठायतलाई औपचारिक सम्मान, पदोन्नति र राष्ट्रिय गौरवको रूपमा कदर गर्नुपर्छ । उनको नेतृत्व केवल प्रहरी सेवामै होइन, मुलुककै सुरक्षा रणनीतिमा अनुकरणीय पाठ बनेको छ ।
पशुपतिनगरको सफलताले प्रष्ट देखाएको छ—समुदायको साथ र विश्वास बिना सुरक्षा सम्भव छैन । निरीक्षक कठायतले संयमता, मातृत्वभाव र कर्तव्यनिष्ठा मिसिएको नेतृत्वद्वारा नेपालकै सुरक्षा संरचनालाई नयाँ परिभाषा दिएकी छन् ।



