सर्वप्रथम आत्मसमर्पण गरिसकेका हुँदाहुँदै पनि क्रुरतापूर्वक हत्या गरिएका “वीर अमर प्रहरी” प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। उनीहरूले आफ्नो जीवन बलिदान गरेर राष्ट्रको सुरक्षाको ढाल बनेका थिए।

प्रहरी तालिममा हामीलाई सिकाइन्थ्यो—“प्रहरीले १ घण्टा ड्युटी छाड्यो भने देश रहँदैन।” त्यो वाक्य केवल पुस्तकमै सीमित सैद्धान्तिक कुरा थिएन, आजको यथार्थले यसलाई प्रमाणित गरिदिएको छ। प्रहरी एक घण्टा पछाडि हट्दा समाज खरानीमा परिणत हुन्छ, नागरिक आतंकित हुन्छन्, अपराधीको हौसला बढ्छ। तर दुर्भाग्यवश, यही प्रहरीलाई कहिलेकाहीँ देशकै आतङ्ककारी भनेर चित्रित गरिन्छ।

प्रहरीलाई कमजोर पार्ने प्रवृत्ति

प्रहरीको जीवन सुरक्षित छैन। ड्युटीमा खटिँदा मृत्यु शिरोधार्य हुन्छ तर त्यसको ग्यारेन्टी छैन। अपमान, उपहास र बेइज्जतीको भारी बोकेर प्रहरी ड्युटीमा खटिनुपर्ने अवस्था छ। अधिकार बिना मात्र कर्तव्य थोपार्ने प्रवृत्ति अहिले सामान्यजस्तै बनेको छ। यस्तोमा कसरी अपेक्षित परिणाम दिने?

यदि प्रहरीलाई सम्मान र अधिकारबिना निरन्तर अपमानित गरिँदै जाने हो भने, प्रहरीको आत्मबल र मनोबल खस्किन्छ। त्यसको प्रत्यक्ष असर देश र समाजकै सुरक्षामा पर्छ। प्रहरी कमजोर हुँदा अपराधी बलिया हुन्छन्, अनि समाज अपराधीहरूको खेलमैदानमा परिणत हुन्छ।

प्रहरीको आत्मसंयम—समाजप्रतिको श्रद्धा

यद्यपि, गर्व गर्नुपर्ने पक्ष के छ भने—नेपाल प्रहरीले कठिनतम क्षणमा पनि आत्मसंयम देखाएको छ। आत्मरक्षाको नाममा गोली चलाएर नरसंहार गर्न सक्ने भए पनि, जनताको भावनालाई सम्मान गर्दै प्रहरीले पछाडि हट्ने साहस देखायो। यो अनुशासन र कर्तव्यनिष्ठाको प्रमाण हो। तर प्रश्न उठ्छ—किन प्रहरीलाई सधैं अपमानित गर्नुपर्ने? किन प्रहरीलाई न देशले पूर्णरूपमा आफ्नो ठान्छ, न जनताले?

प्रहरीको महत्व के हो?

प्रहरी केवल अपराध नियन्त्रण गर्ने निकाय होइन
१.प्रहरी कानुनी शासनको संरक्षक हो
२.प्रहरी नागरिकको स्वतन्त्रता र अधिकारको ढाल हो।
३.प्रहरी संकटको क्षणमा पहिलो उद्धारकर्ता हो।
४.प्रहरी राज्यको अनुहार हो, जसलाई नागरिकले सडकमा प्रत्यक्ष देख्छन्।

एक प्रहरी बलियो हुँदा सामान्य नागरिकले ढुक्क भएर घरमा बस्न सक्छ, सडकमा हिंड्न सक्छ, व्यवसाय चलाउन सक्छ। प्रहरी कमजोर हुँदा भने अपराधीको शासन चल्छ, जनजीवन त्रसित हुन्छ र लोकतन्त्रकै आधार हल्लिन्छ।

प्रहरीलाई बलियो बनाउन के गर्नुपर्छ?

अब प्रहरीलाई केवल आदेश र दबाब दिएर मात्र ड्युटीमा पठाउने दिन सकिएको छैन।
१.प्रहरीको जीवन र सुरक्षाको ग्यारेन्टी हुनुपर्छ
२.प्रहरीलाई स्पष्ट अधिकार, कर्तव्य र जिम्मेवारी तोक्नुपर्छ।
३.प्रहरीलाई राजनीतिक हस्तक्षेप बाट मुक्त गर्नुपर्छ।४.प्रहरीलाई इज्जत र सम्मानका साथ काम गर्ने वातावरण दिनुपर्छ।
यिनै आधारका साथ मात्र प्रहरीले जनताको सुरक्षामा प्रभावकारी योगदान दिन सक्छ।

आज प्रहरीलाई अपमानित गर्ने, मजाक उडाउन खोज्नेहरूलाई एउटा प्रश्न—
भोलि तपाईंको घर लुटियो भने? तपाईंको आमा–दिदीबहिनीमाथि दुर्व्यवहार भयो भने? तपाईं आफैं हिंसाको शिकार हुनुभयो भने? तब प्रहरी नै चाहिँदैन जस्तो लाग्छ?

प्रहरी कुनै व्यक्ति मात्र होइन, यो संस्था हो, राज्यको मेरुदण्ड हो, समाजको ढाल हो। प्रहरी बलियो हुँदा सुशासन बलियो हुन्छ, कानुनी शासन बलियो हुन्छ, अनि नागरिक स्वतन्त्र र सुरक्षित हुन्छन्। प्रहरी कमजोर हुँदा भने देश अपराधीको खेलमैदानमा परिणत हुन्छ।

अब प्रहरीलाई बलियो बनाउन, सम्मानित बनाउन र सुरक्षित वातावरण दिन राज्य, नेतृत्व र समाज सबैले गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको छ। प्रहरी बलियो हुनु भनेको नागरिक र राष्ट्र दुवै बलियो हुनु हो।

जय नेपाल!
लेखक — – नेपाल प्रहरीमा कार्यरत प्रहरी निरीक्षक हुनहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय