
सुरक्षा सरोकार— महिला प्रहरीको क्षमता सबलीकरण र महिलामैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले नेपाल प्रहरीले पहिलोपटक महिला प्रहरी सम्मेलन आयोजना गर्ने भएको छ। देशभरिका सबै तहका महिला प्रहरीलाई काठमाडौंमा भेला गराई सम्मेलन सञ्चालन गर्ने तयारी थालिएको हो।
प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार आगामी भदौ ५ र ६ गते काठमाडौंमा सम्मेलन आयोजना गरिनेछ। यद्यपि आन्तरिक तयारी तीव्र गतिमा अगाडि बढिरहेको भए पनि कार्यक्रमको औपचारिक घोषणा भने हुन बाँकी रहेको छ।

सम्मेलनका लागि अपराध अनुसन्धान विभागका एआईजी राजन अधिकारीको नेतृत्वमा आयोजक समिति गठन गरिएको छ। समितिमा डिआइजी सञ्जीव शर्मा दास, एसएसपी सानुराम भट्टराई, तारादेवी थापा, वसन्त रजौरे र एसपी ऋषिराम कँडेल सदस्य छन् भने एसपी बसुन्धरा खड्का सदस्य–सचिवको जिम्मेवारीमा छिन्।
प्रहरी प्रधान कार्यालयका अनुसार सम्मेलनको मूल उद्देश्य लैंगिक समानता र लैंगिक न्यायलाई संस्थागत गर्दै महिलामैत्री सेवा प्रणाली निर्माण गर्नु हो। सम्मेलनमा देशभरिबाट करिब २०० महिला प्रहरीको सहभागिता रहनेछ। कार्यक्रम अन्तर्गत अनुभव आदान–प्रदान, प्यानल छलफल, सफल महिला प्रहरीलाई सम्मान, र अवकाश प्राप्त महिला प्रहरीबाट प्रेरणादायी अनुभव सुन्नेजस्ता गतिविधिहरू समावेश गरिनेछ।
आयोजक समिति संयोजक एआईजी अधिकारीले सम्मेलन नेपाल प्रहरी लैंगिक नीति ०८१ कार्यान्वयनको अङ्गका रूपमा आयोजना गरिएको बताए। नीति अनुसार राष्ट्रियस्तरको महिला प्रहरी सम्मेलन आयोजना गरिने उल्लेख छ। “नेपाल प्रहरीमा महिलाहरूको ठूलो योगदान छ,” एआईजी अधिकारीले भने, “सम्मेलनमार्फत उहाँहरूको भूमिकालाई अझ सशक्त बनाउँदै संगठनले अघि सारेको नीतिलाई व्यवहारमा उतार्न हामी प्रतिबद्ध छौँ।”
००८ सालदेखि नेपाल प्रहरीमा महिलाको सहभागिता प्रारम्भ भएको हो। पहिलो महिला प्रहरी चैत्यमाया डंगोल पनि सम्मेलनमा सहभागी हुनेछिन्। हाल महिला प्रहरीको संख्यात्मक उपस्थिति करिब १२ प्रतिशत पुगेको छ भने विशिष्ट तहमा समेत दर्जनभन्दा बढी महिला प्रहरी कार्यरत छन्।
सम्मेलनमार्फत महिला प्रहरीको क्षमता अभिवृद्धि, उनीहरूले सेवा प्रवाहमा भोगेका चुनौतीहरूको पहिचान तथा समाधान र संगठनमा उनीहरूको सशक्त उपस्थिति निर्माणमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।
एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार, “महिला प्रहरीका आवाजलाई सुन्ने र तिनको संस्थागत समाधान गर्ने सन्दर्भमा यो सम्मेलन ऐतिहासिक कोसेढुंगा बन्नेछ।”



