
काठमाडौँ ।नेपाली सेनाका सहायक रथी गौरवकुमार केसी उपरथीमा बढुवा भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उपरथी पदमा बढुवा गर्ने निर्णय गरेको हो। साथै, बढुवासँगै केसीलाई पूर्वी पृतनाको पृतनापतिको जिम्मेवारी दिइएको छ।
केसी हालसम्म पूर्वी पृतनाका निमित्त पृतनापति थिए। केही साता अघि मात्र उनी सैनिक प्रवक्ताबाट सरुवा भई उक्त जिम्मेवारीमा पुगेका थिए।

२०४७ सालमा रोयल नेपाली सैन्य प्रतिष्ठान, खरिपाटीबाट तालिम पूरा गरी पुरानो गोरख बटालियनमा सहायक सेनानीका रूपमा भर्ना भएका केसीको सैनिक सेवामा साढे तीन दशक लामो अनुभव छ।
उपरथी केसीले भारतको राष्ट्रिय रक्षा कलेजबाट स्नातक गरेका छन्। त्यसबाहेक उनले अमेरिका, बेलायत, जर्मनी र मङ्गोलियाबाट विविध सैन्य तालिमहरू पूरा गरेका छन्।
त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्र तथा इतिहासमा स्नातकोत्तर गरेका उनले भारतको मद्रास विश्वविद्यालयबाट एमफिल उपाधि पनि हासिल गरेका छन्।
केसीले प्रधानसेनापति प्रभुराम शर्मा कार्यकालमा सैन्य सचिवको जिम्मेवारी सम्हाल्नुका साथै पुरानो गोरखको गणपति, जंगल वारफेयर स्कूलका शिक्षाधिकृत र ३ नं. बाहिनीका बाहिनीपति समेत भएर काम गरेका थिए।
बाहिनीपतिबाट सरुवा भई २०८१ साल वैशाख ३ गतेदेखि उनले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक र सैनिक प्रवक्ताको भूमिका निर्वाह गरेका थिए।



