धादिङ — धादिङ जिल्ला कारागारका कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाएको छ। सेनाको गोली लागेर करिब ७५ वर्षीय एक कैदीको मृत्यु भएको राष्ट्रिय समाचार समिति (रासस) ले जनाएको छ।

घटनामा सात जना कैदीबन्दी घाइते भएका छन्। घाइते सबै पुरुष रहेका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जानकारी दिए। उनका अनुसार कैदीबन्दीले सुरक्षा घेरा तोडेर बाहिर निस्किन खोजेपछि सेनाले गोली चलाउनुपरेको हो।

यसक्रममा जनपथ प्रहरी र सशस्त्र प्रहरी बलका सात जना पनि घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ। गोली लागेर घाइते भएका कैदीबन्दीलाई सेनाको सुरक्षा घेरामा उपचारका लागि काठमाडौं पठाइएको छ।

मंगलबार नक्खु कारागारबाट पूर्वगृहमन्त्री रवि लामिछानेसहित अन्य कैदीबन्दीलाई छाडिएको भन्दै धादिङ कारागारका कैदीबन्दीले आफूहरूलाई पनि रिहा गर्न माग गर्दै कारागारभित्र आगजनी गरेका थिए।

सेनाले गोली चलाउनुअघि पानीको फोहोरा प्रयोग गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो। तर, कैदीबन्दीहरूले सेनामाथि आक्रमण गर्न थालेपछि अन्ततः गोली चलाइएको हो।

धादिङ जिल्ला कारागारमा हाल २४३ जना कैदीबन्दी छन्, जसमा ९ जना महिला रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय