सुनसरी — जनतालाई विपद्बाट जोगाउन आफ्नो ज्यानको बाजी लगाएर उद्धार अभ्यासमा संलग्न सशस्त्र प्रहरी बलका जवानहरू सप्तकोशीमा बेपत्ता भएका घटनामा एक जनाको शव फेला परेको छ भने अर्का एक जना अझै बेपत्ता छन्।

बिहीबार विपद् उद्धार अभ्यासका क्रममा सप्तकोशीमा डुबेर बेपत्ता भएका इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय, सप्तरीमा कार्यरत सशस्त्र प्रहरी जवान हरदेव राजवंशीको शव आज बिहान सप्तकोशी किनारमा फेला परेको हो। खोजी कार्यमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नेत्र कार्कीको नेतृत्वमा खटिएको ३५ सदस्यीय टोलीले शव फेला पारेको पुष्टि गरिएको छ।

त्यसैगरी, नम्बर १३ गण पर्सा दरबन्दी भई नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सशस्त्र प्रहरी जवान सुरज साउद अझै बेपत्ता छन्। उनी डोटी जिल्लाका स्थायी बासिन्दा हुन्।

गएको बिहीबार दिउँसो ३:१० बजे राजवंशी र साउद विपद् उद्धार अभ्यासका क्रममा कोशी नदीमा बेपत्ता भएका थिए। सशस्त्र प्रहरी बलले हराइरहेका साउदको खोजी कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

सशस्त्र प्रहरी बलले यस्तो जोखिमपूर्ण तालिम तथा अभ्यासमा खटिने सुरक्षाकर्मीहरूको सुरक्षालाई अझ प्रभावकारी बनाउने तयारी थालेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय