
सुर्खेत । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमा कार्यरत सवारी चालक २९ वर्षीय हिमबहादुर विष्टको शव भेरी नदी किनारमा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजङ्ग बुढथापाका अनुसार चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ निवासी विष्ट असार ६ गते बिहान “बिरामी छु” भनेर कार्यालयमा जानकारी गराएपछि सम्पर्कविहीन भएका थिए।

उनी प्रयोग गर्दै आएकाे सरकारी मोटरसाइकल असार ९ गते भेरीगंगा नगरपालिका क्षेत्रको भेरी पुल नजिकै सडक छेउमा बेवारिसे अवस्थामा फेला परेको थियो।
लगातार खोजीपछि आज बराहाताल गाउँपालिका–४ स्थित साजघाटको भेरी नदी किनारमा उनको शव फेला परेको हो। घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



