
काठमाडौं । सप्तकोशी नदीमा डुबेर दुई जना सशस्त्र प्रहरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी रहेका छन् ।
सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालय बर्दिबासले विपद् उद्धार अभ्यासको क्रममा आज सप्तकोशी नदीमा अभ्यास सञ्चालन गरिरहेको थियो । अभ्यासमा सहभागी गोताखोर टोलीले सुनसरी र सप्तरी जिल्लाको सीमामा पर्ने नदी क्षेत्रमा बाढीपहिरोबाट प्रभावितलाई कसरी उद्धार गर्ने भन्ने विषयमा कार्यगत अभ्यास गरिरहेको थियो ।

अभ्यासकै क्रममा प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी नदीमा डुबेर बेपत्ता भएका हुन् । उनीहरूको खोजी कार्य अहिले पनि जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले बाढी, पहिरो, डुबान जस्ता प्राकृतिक विपद्को समयमा नागरिकको उद्धारका लागि नियमित रूपमा तालिम र अभ्यास गर्दै आएको छ । यस्तै अभ्यासका क्रममा यो दुःखद घटना भएको हो ।



