काठमाण्डौं – सिन्धुलीमा ईभी गाडी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका नायव उपरीक्षक (डीएसपी) अनिलकुमार खड्काका अनुसार सिन्धुलीको तीनपाटन गाउँपालिका-१० औलडाँडाका २६ वर्षीय प्रेम रानामगरको मृत्यु भएको हो। उनी मोटरसाइकल चालक रहेका थिए। उनको उपचारका क्रममा नगरअस्पताल सिर्थौलीमा निधन भएको प्रहरीले जनाएको छ।

आज बिहान करिब ८:३० बजे दुधौली नगरपालिका-४ स्थित मदनभण्डारी राजमार्गअन्तर्गत डकाहाबाट दुधौली जाँदै गरेको प्र २-०१-००१ प ७०११ नम्बरको मोटरसाइकल र उदयपुर गाईघाटबाट काठमाडौं आउँदै गरेको बा.प्र.०३-०१ ज ४४५ नम्बरको ईभी गाडी आपसमा ठोक्किएका थिए।

दुर्घटनामा घाइते ९ जना ईभी गाडीमा सवार यात्रुहरू हुन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

यसैबीच, ईभी गाडीका चालक उदयपुर त्रियुगा नगरपालिका-६ का ३८ वर्षीय वीरेन्द्रकुमार बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय