काठमाडौं— ओखलढुंगामा बिहीबार बिहान टाटा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा खोटाङको कोपिलासगढी गाउँपालिका-३ की ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र खोटाङकै दिक्तेल-रुपाकोट-मझुवागढी नगरपालिका-१२ की ४५ वर्षीया तारा गुरुङ रहेका छन्।

सिद्धिचरण लोकमार्गअन्तर्गत ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-७ भँडारे खोलामा टाटा सुमो दुर्घटनामा परेको हो। खोटाङबाट काठमाडौं जाँदै गरेको ना १ ज ६४२१ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

प्रहरीका अनुसार तारा गुरुङ मृतक मायादेवी गुरुङकी बहिनी हुन्। बिरामी मायालाई उपचारका लागि छोरा र बहिनीले काठमाडौं लैजाँदै गर्दा दुर्घटना भएको थियो।

सुमोका चालक, सुनसरीको इनरुवा नगरपालिका-२ का २२ वर्षीय अनिल पण्डित, दुर्घटनापछि फरार रहेका छन्। सुमोमा चालकसहित चार जना सवार थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय