
लुम्विनी — गुल्मी जिल्लाको मालिका गाउँपालिकामा चट्याङ लाग्दा ६ जना घाइते भएका छन् भने ४ वटा बाख्राको मृत्यु भएको छ।
प्राप्त जानकारीअनुसार मालिका गाउँपालिका–२ दर्लिङ्गका ३ जना र वडा नं. ३ ह्वान्दीका ३ जना गरी कुल ६ जना घाइते भएका हुन्। चट्याङ लाग्दा घाइतेमध्ये गोमा खड्का गम्भीर घाइते रहेको जनाइएको छ। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

यसैबीच चट्याङका कारण ४ वटा बाख्राको पनि मृत्यु भएको स्थानीय स्रोतले जनाएको छ। अचानक परेको चट्याङका कारण स्थानीयवासी त्रसित बनेका छन्।
गुल्मी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद गोविन्द पन्थीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। गम्भीर घाइते गोमा खड्काको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई ध्यान दिन उनले आग्रह गरेका छन्।
चट्याङबाट कसरी बच्ने ? (सावधानीका उपाय)
मौसम बदलिएसँगै चट्याङका घटना बढ्ने भएकाले सर्वसाधारणले यी सावधानी अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ—
• पानी परिरहेकै बेला खुला ठाउँमा बस्न वा हिँड्न नजाने
• ठूलो रुखमुनि बस्न वा उभिन नहुने
• मोबाइल चार्ज गरिरहेको अवस्थामा प्रयोग नगर्ने
• टिनको छाना वा खुला चौरमा बस्न नहुने
• घरभित्र बस्दा बिजुलीका तार, फलामका वस्तु र पानीको धारा नछुने
• सम्भव भएसम्म सुरक्षित घर वा भवनभित्र बस्ने



