काठमाडौं — चलचित्र पत्रकार तथा चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष दिनेश सिटौलाको असामयिक निधन भएको छ। उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक प्रकार) बाट पीडित थिए।

अछाममा रहँदा अचानक बेहोस भएर ढलेपछि सिटौलालाई उपचारका लागि शुक्रबार काठमाडौं ल्याइएको थियो। ग्राण्डी अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भइरहेको अवस्थामा चिकित्सकले आज दिउँसो १२ः४५ बजे मृत घोषणा गरेका हुन्।

स्वर्गीय सिटौलाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको परिवार स्रोतले जनाएको छ।

४३ वर्षीय सिटौला अविवाहित थिए। उनका पिता, एक दिदी तथा दुई दाजुभाइ रहेका छन्। मिलनसार, सरल र लगनशील स्वभावका सिटौलाले नेपाली चलचित्र क्षेत्रमा लामो समय योगदान दिएका थिए। उनले सयौं नेपाली चलचित्रको प्रचार–प्रसार (प्रमोसन) कार्यमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

सिटौला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा उनको टोलीसँगै अछाम पुगेका थिए।

उनको निधनले नेपाली चलचित्र पत्रकारिता क्षेत्रले एक अनुभवी, कर्मठ र समर्पित पत्रकार गुमाएको छ। विभिन्न सञ्चारकर्मी, कलाकार तथा राजनीतिक व्यक्तित्वहरूले सिटौलाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय