काठमाडौँ, भदौ ३० — राजधानी काठमाडौंमा हालै भएको Gen Z आन्दोलनको क्रममा टाउकोमा गोली लागी १८ वर्षीय श्रीयम चौलागाईको ज्यान गएको घटनाले देशैभर शोक र आक्रोश छाएको छ।

भिडबीच शान्तिपूर्ण रूपमा हिँडिरहेका चौलागाईलाई माथिबाट प्रहार भएको गोली टाउकोमा लागेको भिडियो सार्वजनिक भएपछि घटनाले गम्भीर प्रश्न उठाएको छ— निहत्था युवामाथि यसरी गोली कसरी चलाइयो?

इटहरीमा जन्मिएका र हाल काठमाडौंको पेप्सीकोला बस्दै आएका चौलागाई ग्लोबल कलेज अफ म्यानेजमेन्टमा कक्षा १२ (म्यानेजमेन्ट) अध्ययनरत थिए। उमेरले मात्र १८ वर्ष पूरा गरेका उनी परिवारको एक्लो छोरासँगै बुबा–आमाको बुढेसकालको सहारा थिए।

बुबा गणेश चौलागाई र आमा गंगा कार्कीले असामयिक रूपमा छोराको मृत्युले आफ्नो संसार नै उजाडिएको बताउँदै आँसु झार्न भ्याएका छैनन्।

“हाम्रो छोराले राजनीति गरेको थिएन, केवल साथीहरूसँग हिँडिरहेको थियो। किन गोली प्रहार गर्नुपर्‍यो? हामीलाई छिटोभन्दा छिटो न्याय चाहिन्छ,” परिवारले पत्रकारहरूसामु भनेका छन्।

परिवार, आफन्त तथा स्थानीयहरूले घटनाको निष्पक्ष छानबिन गर्न सरकार र सम्बन्धित निकायलाई जोडदार माग गरेका छन्। उनीहरूले आन्दोलनमा सहभागी निहत्था युवामाथि गोली चलाउनु मानवअधिकारको ठाडो उल्लंघन भएको भन्दै दोषी जो भए पनि कानुनी कठघरामा ल्याउनुपर्ने चेतावनी दिएका छन्।

श्रीयम चौलागाईको निधनले युवा पुस्ता मात्र होइन, समग्र समाजलाई स्तब्ध बनाएको छ। एकतर्फ सरकारले जनताको आवाज सुन्नुपर्ने माग तीव्र बनेको छ भने अर्कोतर्फ निहत्था आन्दोलनकारीमाथि हिंसात्मक बल प्रयोगको सवालले सुरक्षा निकायमाथि गम्भीर प्रश्न खडा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय