गुल्मी, तम्घास। रवि लामिछानेले आगामी प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्यसँग प्रत्यक्ष जोडिएको निर्णायक क्षणका रूपमा चित्रण गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले मतदातालाई सक्षम, इमानदार र जवाफदेही नेतृत्व रोज्न आग्रह गरे।

लामिछानेले विगतका राजनीतिक अनुभव र कमजोरीलाई स्मरण गराउँदै यसपटक गल्ती दोहोर्याउन नहुने चेतावनी दिए। “नेतृत्व चयनमा फेरि चुक्यौं भने देशले पुनः दुःख पाउनेछ,” उनले भने, “हाम्रो निर्णयले भावी पुस्ताको भविष्य निर्धारण गर्छ, त्यसैले सचेत र विवेकपूर्ण छनोट आवश्यक छ।”

निर्वाचनलाई उनले ‘महाभारतको युद्ध’सँग तुलना गर्दै वर्तमान राजनीतिक परिवेशमा सत्य र असत्य, सुशासन र बेथिति, इमानदारी र भ्रष्टाचारबीचको संघर्ष चलिरहेको दाबी गरे। “अब कौरव र पाण्डव छुट्याउने बेला आएको छ,” उनले भने, “जनताले न्याय र सत्यको पक्ष रोज्नुपर्छ।”

कार्यक्रममा उनले भ्रष्टाचार, शक्तिको दुरुपयोग तथा राजनीतिक बेथितिविरुद्ध आफ्नो पार्टी दृढ रूपमा उभिएको दोहोर्‍याए। रिडीदेखि तम्घाससम्म विभिन्न स्थानमा आयोजित भेटघाट तथा अन्तरक्रियापछि उनी अर्घाखाँची तर्फ प्रस्थान गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय