देशैभर परिवर्तनको घन्टी बज्ने संकेत स्पष्ट भइसकेपछि गुल्मीमा पनि पुराना दलका नेताहरू अतालिँदै मिडियाबाजीमा उत्रिएका छन्। विशेषगरी एमाले गुल्मी–१ र गुल्मी–२ का उम्मेदवारहरूको हतास अवस्था उनीहरूका अभिव्यक्तिबाटै झल्किन्छ।

३० वर्षसम्म सत्ताको मोहमा हराएका नेताहरू आज किन यसरी भड्किरहेका छन् ? किन डराइरहेका छन् ? किन अतालिएका छन् ? यसको स्पष्ट उत्तर छ— सत्ताको उन्माद र मोह।

तीन दशकसम्म नगरेको विकास अब गर्छौँ भन्न पनि कति लाज नलाग्दो रहेछ ! विचार र एजेन्डाले जितेको भए पो यस्तो दाबी सुहाउँथ्यो। तर पैसा र पावरका भरमा चुनाव जित्ने बानी परेकाहरूलाई न लाज छ, न त जनताप्रति उत्तरदायित्व।

हरेक चुनावमा मतदातालाई बजारको सामान किनबेच गरेझैँ व्यवहार गर्नेहरू, अनि हामी जनता—जिम्मेवारी खोज्नुपर्ने ठाउँमा “हाम्रो नेता जितायौँ” भन्दै नाराबाजीमै रमाउने। यही चेतनाको अभावले हामी हरेक चुनावमा वस्तुभाउझैँ बेचिँदै आएका छौँ भन्ने तितो सत्य स्वीकार गर्नैपर्छ।

आज पुराना दलहरू एकाएक देशमा देखिएको परिवर्तनको लहरबाट रन्थनिएका छन्। न निद्रा लागेको छ, न भोक। यो त जनताको चेतना र ‘जेन्जी आन्दोलन’का सहिदहरूको आत्माले उनीहरूलाई झस्काएको परिणाम हो जस्तो लाग्छ।

“अब पनि चुनाव लड्न लाज लाग्दैन ? फेरि जनताका आँखामा छारो हाल्न खोज्दैछौ ? फेरि पैसाले मत किन्ने ?”—यस्तै प्रश्नहरूले उनीहरूलाई पछ्याइरहेका छन्।

गुल्मीवासी आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरू,

यो परिवर्तनको समय हो। हिजोको आस्था इतिहासमा सुरक्षित रहन्छ, तर भविष्य नयाँ सोचले लेखिनुपर्छ। गुल्मी–१ र गुल्मी–२ मा रास्वपाका उम्मेदवारलाई विजयको माला पहिर्याएर इतिहास निर्माण गरौँ।

आज गुल्मीका एमाले नेताहरू के बोलिरहेका छन्, आफैँ सुनौँ—

कसैले भन्छन्, “हाम्रो पालामा चिनी सस्तो थियो, अहिले महँगो छ।”

कसैले भन्छन्, “विदेशमा रहेका छोराछोरीले इमोशनल ब्ल्याकमेल गरेर घण्टीमा भोट हाल्न लगाएका छन्।”

कति अतालिएको अभिव्यक्ति !

विदेशमा बस्ने कसैले कसैलाई ब्ल्याकमेल गरेको छैन। उनीहरूले खुलेआम भनेका छन्—नयाँ नेतृत्व रोजौँ, देश परिवर्तन गरौँ। यो आग्रह हो, ब्ल्याकमेल होइन।

हजुरहरू पटक–पटक मन्त्री हुनुभयो, परराष्ट्र मन्त्रीजस्तो जिम्मेवारी सम्हाल्नुभयो। त्यतिबेला विदेशका देशहरू कसरी विकासको गतिमा दौडिरहेका छन् भन्ने देख्नुभएन ? सही नेतृत्व चयन भयो भने स्थिरता, सुशासन र विकास सम्भव हुन्छ भन्ने उदाहरण त संसारभर छन्।

तर आफ्नै नातिको उमेरका युवासँग मैदानमा उत्रेर अझै तन्नेरी झैँ देखिने अभिनय गर्दा गुल्मीका जनता वाक्क भइसकेका छन्।

जापान, कोरिया, बंगलादेशजस्ता देशहरू—जसलाई कहिल्यै नेपालले सहयोग गरेको इतिहास थियो—आज कहाँ पुगिसके ? हामी कहाँ अड्किएका छौँ ?

कमजोरसँग होइन, बलियासँग प्रतिस्पर्धा गर्नुपर्छ भन्ने कुरा विदेश भ्रमणमा भत्ता पचाउँदा देख्नुभएन ?

अन्त्यमा गुल्मीवासी सम्पूर्ण मतदाताहरूलाई आग्रह—

पटक–पटक “सुध्रिन्छौँ” भन्दै भोट माग्नेहरू र “देश बनाउँछौँ” भन्ने नयाँ सोचबीचको फरक छुट्याउनुहोस्।

पुरानाको हेरियो, अब नयाँलाई मौका दिनुहोस्।

— विशाल भण्डारी

धुर्कोट गाउँपालिका–५, गुल्मी

हाल जापान

प्रतिक्रिया

सम्बन्धित खवर