जापान । नेपाल जनसंख्याको हिसाबले सानो भए पनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण, शान्त र सुन्दर देश हो। “सुन्दर, शान्त देश नेपाल” भनेर विश्वभर चिनिएको हाम्रो मुलुक विगत केही वर्षदेखि अशान्ति, बेरोजगारी, भ्रष्टाचार र राजनीतिक अस्थिरताको पर्यायजस्तै बन्नु लज्जास्पद अवस्था हो।

विभिन्न कालखण्डमा भएका आमूल परिवर्तनका आन्दोलनमा खम्बा बनेर उभिएका, देशको विकास र निकास चाहने अधिकांश युवाशक्ति आज देशबाहिर रहेको यथार्थ सबैमा जगजाहेर छ। युवा राष्ट्रको मेरुदण्ड हुन्, देशको सबैभन्दा ठूलो सम्पत्ति हुन् भन्ने कुरा वर्षौंदेखि नारामा मात्र सीमित राख्ने पुराना राजनीतिक दलहरू आज परिवर्तनको नाममा युवा लक्षित नाटक गर्दै हारगुहार गरिरहेका देखिन्छन्।

यही पृष्ठभूमिमा भर्खरै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने देशभित्र मात्र होइन, विदेशमा रहेका अधिकांश युवामाझ लोकप्रिय बन्दै गएको छ। समयअनुकूल परिवर्तन, सुशासनको स्थापना, भ्रष्टाचारको अन्त्य र स्वदेशमै रोजगारी सिर्जनाजस्ता स्पष्ट र युवामैत्री एजेन्डा बोकेर रास्वपाले देशैभर परिवर्तनको घन्टी बजाइरहेको छ। यही कारणले विदेशमा रहेका युवाशक्तिले पनि रास्वपालाई आशाको विकल्पका रूपमा पछ्याइरहेका छन्।

नेपालको राजनीतिक, सामाजिक र आर्थिक अवस्थाका कारण विभिन्न जिम्मेवारी बोकेर विदेशिन बाध्य भएका युवाहरू सबैभन्दा बढी नेपाल बनेको, समृद्ध र सुशासित भएको देख्न चाहन्छन्। देशभित्र मौलाउँदै गएको बेथिति, भ्रष्टाचार र कु-राजनीतिक संस्कारका कारण पुराना दल र पुराना नेताप्रति युवाहरू आक्रोशित हुँदै नयाँ विकल्पतर्फ केन्द्रित भएको स्पष्ट देखिन्छ।

विदेशमा रहँदा युवाहरूले त्यहाँको विकास, राजनीतिक संस्कार, आर्थिक उन्नति, प्रशासनिक कार्यसम्पादन, प्रविधिमा पहुँच, शिक्षा, स्वास्थ्य, यातायातजस्ता नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएका सेवाहरू आत्मनिर्भर र व्यवस्थित रूपमा सञ्चालन भएको अनुभव गरेका छन्। हाम्रो देशलाई पनि दीर्घकालीन नीति, इमानदार नेतृत्व र स्पष्ट दृष्टिकोणले मात्र विकास, समृद्धि र स्थायित्वको बाटोमा लैजान सकिन्छ भन्ने विश्वास विदेशमा बस्ने युवाहरूको साझा चाहना हो।

यही कारणले आज राष्ट्रिय स्वतन्त्र पार्टी विदेशमा रहेका अधिकांश युवाहरूको रोजाइमा पर्न सफल भएको छ।

अन्त्यमा, यही फागुन २१ गते हुन गइरहेको निर्वाचनमा देशैभर परिवर्तनको घन्टी बजोस्। जो जहाँ छौँ, त्यहीँबाट आपसी सहयोग गरौँ। “हाम्रो” होइन, “राम्रो” लाई मतदान गरौँ।

म व्यक्ति वा पार्टीभन्दा माथि उठेर मेरो देश बनेको हेर्न चाहन्छु।

लेखक – विशाल भण्डारी (गुल्मी)✍️ १३ वर्ष देश जनताको सेवा गरी पूर्व प्रहरी सहायक हवल्दार, हाल वैदेशिक रोजगारीको सिलसिलामा जापानमा रहँदै आउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर