
गुल्मी, मिति २०८२/१०/१०- निर्वाचन प्रचारप्रसारका क्रममा गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले समयपालनाको उदाहरण प्रस्तुत गरेका छन्। शान्तिपुरबाट सत्यवती गाउँपालिकाको खैरेनी बजार जाने क्रममा उम्मेदवारहरू निर्धारित समयभन्दा करिब १०–१५ मिनेट ढिलो पुगेका थिए।
तर उक्त ढिलाइ लापरवाहीका कारण नभई बाटोमा स्थानीय मतदातासँग भेटघाट, अभिवादन र संवाद गर्न रोकिँदा भएको हो। बाटोभरि प्रतिक्षामा उभिएका नागरिकलाई बेवास्ता गर्न नसक्दा कार्यक्रम केही ढिलो सुरु भएको बताइएको छ।

खैरेनीमा आयोजित कार्यक्रममा ढिलो पुगेपछि उम्मेदवारले स्वयं समयपालना नगरेको स्वीकार गर्दै सार्वजनिक रूपमा जिम्मेवारी लिएका थिए। उनले देशमा धेरै योजना तथा आयोजना समयमै सम्पन्न हुन नसक्नुको एक प्रमुख कारण समयपालनाको अभाव रहेको उल्लेख गर्दै, आफूले अघि सारेको “ढिलो आए उठबस गर्ने” नीतिअनुसार आफैं तीन पटक उठबस गरेर उदाहरण प्रस्तुत गरे।
उम्मेदवारको यस व्यवहारलाई स्थानीयवासीहरूले सकारात्मक रूपमा लिएका छन्। जनताको कारणले ढिलाइ भए पनि नियम आफूले नै पालना गर्नुपर्छ भन्ने सन्देशले उनीहरू जिम्मेवार, अनुशासित र आत्मआलोचना गर्न सक्ने नेता भएको देखाएको सहभागीहरूको भनाइ छ।
स्थानीय मतदाताहरूका अनुसार अब जनताले आलोचना सुन्न सक्ने, गल्ती स्वीकार गर्ने र आवश्यक पर्दा माफी माग्न सक्ने जनप्रतिनिधि चाहेका छन्। यही अपेक्षा गुल्मी जिल्लामा रास्वपाबाट उम्मेदवार बनेका इन्जिनियर सागर ढकाल र अधिवक्ता गोविन्द पन्थीले व्यवहारबाटै देखाएको उनीहरूको प्रतिक्रिया छ।
बाटोमा देखिएको जनउत्साह, भीड र उम्मेदवारप्रतिको बढ्दो आकर्षणले गुल्मीको राजनीतिक माहोल तातेको छ। रास्वपा उम्मेदवारप्रति देखिएको क्रेजले अन्य राजनीतिक दलहरूलाई समेत तरङ्गित बनाएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।
समयपालना, आत्मअनुशासन र जनताप्रतिको सम्मानलाई प्राथमिकता दिने यो घटनाले गुल्मीमा नयाँ राजनीतिक संस्कृतिको संकेत दिएको विश्वास धेरैले व्यक्त गरेका छन्।



