
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा निर्वाचन क्षेत्र नम्बर–२ बाट दिएको उम्मेदवारी फिर्ता लिएका छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवारी दिएका भट्टराईले फेसबुक लाइभमार्फत आफ्नो उम्मेदवारी फिर्ता लिएको औपचारिक घोषणा गरेका हुन्।

उनका अनुसार गोरखा–२ का जनतासहित नयाँ तथा पुराना सबै राजनीतिक दलका नेताहरूको आग्रह र सुझावलाई सम्मान गर्दै आफूले यो निर्णय लिएको बताए। “जनताको भावना र स्थानीय राजनीतिक सहमतिलाई प्राथमिकता दिँदै उम्मेदवारी फिर्ता लिएको हुँ,” उनले भने।
भट्टराईले अब संसद् बाहिर रहेर पनि जनताको आकांक्षा अनुसार लोकतन्त्र, सुशासन र सामाजिक न्यायका पक्षमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
गोरखा–२ मा अब नेकपा (एमाले)बाट चक्रे मिलन, नेपाली कांग्रेसबाट प्रकाशचन्द्र दवाडी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट महामन्त्री कवीन्द्र बुर्लाकोटी चुनावी प्रतिस्पर्धामा रहेका छन्।



