
काठमाडौं, असार १२ गते।हिल्टन होटल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले खरिद गरेको भनी फेसबुकमा स्टाटस लेखेका युवक सुजित केसीलाई काठमाडौं जिल्ला अदालतले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद अवस्तीको आदेशमा बिहीबार केसीलाई रिहा गरिएको हो। उनले फेसबुकमार्फत “जयवीरसँग यति धेरै पैसा कहाँबाट आयो?” भनी प्रश्न उठाउँदै स्टाटस लेखेका थिए।

उक्त स्टाटसको विषयलाई लिएर जयवीर देउवाको तर्फबाट केसीविरुद्ध गलत सूचना फैलाएको आरोपमा उजुरी दिइएको थियो। सोही आधारमा प्रहरीद्वारा पक्राउ परेका केसीलाई अदालतमा पेस गरिएको थियो।
अदालतमा भएको बयानका क्रममा केसीले आफूले दिलभूषण पाठकद्वारा बनाइएको ‘टफ टक’ नामक भिडियोमा आधारित रहेर स्टाटस लेखेको स्वीकार गरेका छन्। तर पछि अन्य सञ्चारमाध्यमहरूमा पुष्टि नभएपछि सो स्टाटस मेटाएको समेत अदालतमा बताएका छन्।
यता, उक्त भिडियो निर्माणकर्ता दिलभूषण पाठकविरुद्ध पनि जयवीर देउवाले साइबर ब्यूरोमा उजुरी दिएपनि अदालतले पाठकलाई पक्राउ नगर्न आदेश दिएको छ। पाटन उच्च अदालतले विषयको टुंगो नलागेसम्म पक्राउ नगर्नु भनी आदेश दिएको हो।
सोही आधारमा प्रहरी प्रशासन पाठकप्रति सावधानीपूर्वक अघि बढिरहेको देखिएको छ भने सामाजिक सञ्जालमा टिप्पणी लेख्ने व्यक्ति भने पक्राउ परेर अदालत समक्ष पेश भई धरौटीमा रिहा भएका छन्।
यसले सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्ताबीचको दोहोरो मापदण्ड र न्याय प्रणालीमा शक्ति पहुँचको प्रभाव बारे बहस चर्किन थालेको छ।



