
कैलाली—इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डिएसपी) रण बहादुर चन्दले प्रहरी प्रशासन व्यवसायीको तगारो नभई सहयात्री भएको बताएका छन्। बुधवार गोदावरी होटल व्यवसायी संघद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै डिएसपी चन्दले व्यवसायको सुरक्षामा प्रहरी सधैं सहयोगी भूमिका निभाउने प्रतिवद्धता व्यक्त गरे।
“म स्वयं कैलालीको बासिन्दा पनि हुँ, मेरो पेशागत जिम्मेवारीसँगै सामाजिक दायित्व पनि छ,” डिएसपी चन्दले भने, “व्यवसायलाई कसरी समर्थन गर्न सकिन्छ भन्ने विषयमा मेरो पेसा र मर्यादाले निर्देशित गर्ने ढंगले म सधैं साथ दिनेछु।”

उनले दर्ता नपरेका तथा मापदण्ड नपुगी सञ्चालनमा आएका होटलहरूको जानकारी प्रहरीलाई दिन व्यवसायीलाई आग्रह गर्दै भने, “जबसम्म शरीरको जुम्रा हटाइँदैन, तबसम्म चिलाइरहन्छ। त्यसैले कन्याइरहनुभन्दा जुम्रा हटाउनु उपयुक्त हुन्छ।”
डिएसपी चन्दले होटल व्यवसायको समयबद्ध सञ्चालनको विषयमा पनि लचिलो दृष्टिकोण अपनाउने प्रतिबद्धता जनाए। “हाल १० बजेपछि होटल खोल्न नपाइने भनिएको छ, तर रातभर पनि खोल्न सकिन्छ। त्यसका लागि मापदण्डबारे सोच्न जरुरी छ,” उनले भने, “म जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर रातभर होटल सञ्चालन हुने व्यवस्था मिलाउँछु, आवश्यकता परेको बेला होटल खोल्न पाउने अधिकार व्यवसायीलाई दिलाउँछु।”
सुरक्षा व्यवस्थाको सुदृढीकरणका लागि होटलमा पाहुनाको परिचय खुल्ने कागजात अनिवार्य रूपमा राख्नुपर्ने र कामदारहरूको अभिलेख व्यवस्थित राख्न पनि उनले सुझाव दिए।
सुदूरपश्चिमको मुख्य नाका अत्तरियामा विभिन्न स्थानबाट मानिसहरू आउने भएकाले शङ्कास्पद व्यक्ति वा गतिविधि देखिएमा प्रहरीलाई तत्काल खबर गर्न उनले आग्रह गरे। “अत्तरिया सुदूरपश्चिमको मुटु हो। मुटुबाट जस्तो रक्तसञ्चार हुन्छ, यहाँबाट यातायात सञ्चार हुन्छ,” उनले भने, “यहाँ विभिन्न उद्देश्य लिएर मानिस आउँछन्। त्यसैले कुनै शङ्कास्पद गतिविधि देखिएमा हामीलाई खबर गर्नुहोस्।”



