काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआईजी) अविनारायण काफ्लेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरी पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

निर्वाचन सुरक्षालाई लिएर केही राजनीतिक दल तथा सरोकारवालाबाट प्रश्न उठे पनि प्रहरी सङ्गठनले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने काफ्लेको स्पष्ट धारणा छ। निर्वाचनको भित्री घेरामा रही सुरक्षा प्रदान गर्ने मुख्य जिम्मेवारी प्रहरीकै हुने भन्दै उनले सम्पूर्ण मतदाता, राजनीतिक दल र आमनागरिकलाई विश्वस्त रहन आग्रह गरेका छन्।

जेनजी आन्दोलनपछिको पुनर्निर्माणमा नागरिक–प्रहरी सहकार्य उदाहरणीय

जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीका धेरै भौतिक संरचनामा क्षति पुगे पनि त्यसपछिको पुनर्निर्माण प्रक्रियामा नागरिक र प्रहरीबीच घनिष्ठ सहकार्य देखिएको काफ्लेले बताए।

उनका अनुसार आन्दोलनका क्रममा १४३ वटा भवन पूर्ण रूपमा र ३१६ वटा आंशिक गरी कुल ४५९ युनिटमा क्षति पुगेको थियो। तीमध्ये हालसम्म ४४९ युनिट पुनर्निर्माण भई सञ्चालनमा आइसकेका छन्।

“पुनर्निर्माण प्रक्रियामा नागरिक तहबाट प्राप्त सहयोग अतुलनीय छ। यसले नेपाल प्रहरीप्रति नागरिकको बढ्दो विश्वास स्पष्ट रूपमा देखाउँछ,” उनले भने। नागरिककै सुरक्षाका लागि नेपाल प्रहरी स्थापना भएको उल्लेख गर्दै उनले कानुन कार्यान्वयन, अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रहरी सधैं अग्रपंक्तिमा रहेको बताए।

प्रहरीको मनोबल उच्च छ, खस्किएको छैन : काफ्ले

पछिल्लो समय प्रहरीको मनोबल खस्किएको भन्ने टिप्पणीप्रति प्रतिक्रिया दिँदै काफ्लेले प्रहरीको मनोबल उच्च रहेको र कहिल्यै खस्किएको नदेखिएको दाबी गरे।

जेनजी आन्दोलनपछिका कठिन परिस्थितिमा पनि नागरिकको साथ र सहयोग प्राप्त भएको उल्लेख गर्दै उनले नयाँ प्रहरी नेतृत्व आएपछि सेवा–सुविधा, कल्याणकारी योजना र सहुलियतलाई उच्च प्राथमिकता दिइएको बताए।

कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त गरेका प्रहरी कर्मचारीका परिवारलाई क्षतिपूर्ति, आर्थिक सहयोग र रोजगारीको व्यवस्था, घाइते प्रहरीका लागि उपचार खर्चलगायत सुविधालाई प्राथमिकता दिइएको उनको भनाइ छ।

निर्वाचन सुरक्षाका लागि ७७ हजार प्रहरी परिचालन

आगामी निर्वाचनका लागि ७७ हजार प्रहरी परिचालन गरिने जानकारी दिँदै काफ्लेले विद्यमान जनशक्तिले मात्रै पर्याप्त नहुने भएकाले १ लाख ३३ हजार ९८० म्यादी (निर्वाचन) प्रहरी भर्ना गरिने बताए।

निर्वाचन प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि २०८२ स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको उनले जानकारी दिए।

२०७९ र २०७४ को निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई प्राथमिकता दिइनेछ भने पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक तथा सुरक्षा निकायको शारीरिक र स्वास्थ्य परीक्षा उत्तीर्ण व्यक्तिलाई समेत अवसर दिइनेछ।

१८ देखि ५४ वर्ष उमेर समूहका, फौजदारी अभियोग नलागेका र नैतिकवान् व्यक्तिहरू भर्ना प्रक्रियामा सहभागी हुन सक्नेछन्।

मतदाताको सुरक्षाका लागि व्यापक तयारी

मतदातालाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन मतदानस्थल वर्गीकरण गरी सुरक्षाका उपाय अपनाइएको काफ्लेले बताए।

उनका अनुसार

  • २,८४५ मतदानस्थल सामान्य,
  • ४,४४२ संवेदनशील र
  • ३,६८० अति संवेदनशील रूपमा वर्गीकरण गरिएको छ।

सोहीअनुसार नियमित तथा विशेष सुरक्षा योजना कार्यान्वयन भइसकेको उनले जानकारी दिए।

“निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गराउन नेपाल प्रहरी पूर्ण रूपमा तयार छ। शान्ति सुरक्षाका विषयमा कसैले डर वा त्रास मान्नुपर्ने अवस्था छैन,” काफ्लेले स्पष्ट पारे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय