
मानव भएकाले प्रहरीको पनि परिवारसँग बसेर दु:ख–सुख साटासाट गर्ने इच्छा र चाहना हुन्छ। तर ती धेरैजसो सपना जस्तै मात्र बन्न पुग्छन्, किनकि विषम परिस्थितिमा पनि नेपाल प्रहरी चौविसै घण्टा जनताको सेवामा र राष्ट्रको हितमा खटिइरहेको हुन्छ। देश र जनताको सुरक्षाका लागि जस्तोसुकै जोखिम सामना गर्दै प्रहरी नि:स्वार्थ सेवामा लागिरहे पनि प्रहरीप्रतिको सोच भने अझै पनि अपेक्षित रूपमा परिवर्तन हुन सकेको छैन।
प्रहरी पनि समुदायकै एक महत्वपूर्ण सदस्य हो। राज्यका नियम–कानुनअनुसार काम गर्दा सबैलाई खुसी पार्न सकिन्न—तर यसले कसैलाई अन्याय गर्ने मनसाय कहिल्यै रहँदैन। बुझाइ मात्र फरक हुन्छ। सेवा निवृत्ति भएपछि प्रहरी पनि यही समुदायमै फर्केर बस्ने हो भन्ने प्रहरीलाई राम्ररी थाहा छ।

सके सहयोग गर्ने, नसके असहयोग नगर्ने संस्कार समाजमा विकास हुन आवश्यक छ। ४०/४५ डिग्रीको चर्को घाम होस् वा शून्य डिग्रीको कठ्यांग्रिदो जाडो—प्रहरी सधैँ ड्युटीमै हुन्छ। प्रहरीका लागि दिन–रात, हिउँद–वर्खा, भोक–तृष्णा, आराम–निद्रा कुनै पनि कारण रोकावट हुँदैन। अहोरात्र खटिएर देश–जनताको सेवा गर्ने प्रहरीको उचित मूल्यांकन अब अवश्य हुनुपर्छ। विशेषगरी निम्न तहका प्रहरी कर्मचारीहरू अत्यन्तै मर्कामा छन् भन्ने कुरामा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।
संगठनको राम्रो छवि देखेर प्रहरी बन्न होमिएका धेरै युवाहरू आज राजीनामा दिन बाध्य छन्। किनकि प्रहरीको पनि परिवार, ईष्टमित्र, नातागोता र जिम्मेवारी हुन्छन्। चौविसै घण्टा ज्यानको बाजी लगाएर खटिँदा पनि आफू र परिवार धान्न कठिन हुने अवस्था एकदुई होइन।
किन प्रहरीबाट भटाभट राजीनामा भइरहेको छ?
किन प्रहरी सेवा अवधि १६ वर्षबाट २० वर्ष पुर्याइयो?
किन राशन बढेको छैन?
किन लत्ताकपडा समयमै पुग्दैन?
यस्ता गम्भीर प्रश्नहरू उठिरहेका बेला प्रहरी महानिरीक्षकज्यूले प्रहरीका हकहितमा आवाज उठाउनुहुने विश्वास गर्न कठिन छैन।
प्रहरी नियमावली, २०४९ अनुसार सेवा प्रवेश गरेका प्रहरी कर्मचारीहरूलाई त्यतिबेलाकै प्रावधानका आधारमा सेवा–निवृत्तिभरण पाउने व्यवस्था हुनु आवश्यक देखिन्छ। यदि निम्न तहका प्रहरी कर्मचारीहरूको काम, कर्तव्य र जिम्मेवारीको उचित मूल्यांकन हुन सके अझै उत्साह, प्रतिबद्धता र बफादारीका साथ सेवा प्रवाह गर्न प्रहरी सक्षम हुनेछन्।
तर प्रहरी नियमावली, २०७१ को नियम १३१(१) ले धेरैलाई मर्कामा पारेको स्पष्ट रूपमा देखिन्छ। २०४९ अनुसार हवल्दार र जवानको सेवा अवधी १६ वर्ष कायम थियो, जुन परिवर्तनले अहिले प्रहरी संगठनमै चुनौती थपिदिएको छ।
आफ्नै लक्ष्य र उद्देश्यसहित सेवा प्रवेश गरेका प्रहरी कर्मचारीहरू दिनदिनै राजीनामा दिन बाध्य हुनु केवल संगठनका लागि हैन, राज्यका लागि नै ठूलो क्षति हो। त्यसैले नेपाल सरकारले प्रहरी कर्मचारीको वास्तविक काम, कर्तव्य र जिम्मेवारीको मूल्यांकन गर्दै प्रहरी जवान र हवल्दारको सेवा अवधि पुनः १६ वर्षमै कायम गर्ने विषयमा गम्भीर ध्यान दिन आवश्यक छ।
धन्यवाद।
विशाल भण्डारी
(पूर्व प्रहरी सहायक हवल्दार)



