पोखरा । युवा व्यवसायी सौगात थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गराएका छन्।

३५ वर्षमुनिको युवा समूहबाट उम्मेदवारी दिएका थापाले उद्योग–व्यवसाय क्षेत्रमा हासिल गरेको नेतृत्व, व्यवस्थापकीय अनुभव र संगठन सञ्चालनको सीपलाई अब पार्टीको संगठनात्मक भूमिकासँग जोड्ने बताएका छन्।

अंशुभरा ग्रुपका प्रबन्ध निर्देशकसमेत रहेका थापा पोखराको उद्योग–व्यवसाय क्षेत्रमा लामो समयदेखि सक्रिय छन्। हालै सम्पन्न पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा उनी उद्योग उपाध्यक्ष पदमा निर्वाचित भएका थिए।

व्यवसायिक क्षेत्रको अनुभवलाई राजनीतिक तथा सामाजिक नेतृत्वमा उपयोग गर्ने उद्देश्यले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको थापाको भनाइ छ।

कांग्रेसले १५औँ महाधिवेशनमा ३५ वर्षमुनिका युवालाई छुट्टै समूहबाट प्रतिनिधित्व गराउने व्यवस्था गरेकोप्रति सकारात्मक धारणा राख्दै थापाले युवा पुस्तालाई पार्टीको निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउनुपर्नेमा जोड दिएका छन्।

‘व्यवसायिक क्षेत्रमा काम गर्दा हासिल गरेको नेतृत्व, व्यवस्थापन र समन्वयको अनुभवलाई अब संगठनात्मक भूमिकामा उपयोग गर्न चाहन्छु। युवा पुस्ता केवल दर्शक भएर बस्ने होइन, निर्णय प्रक्रियामै प्रत्यक्ष सहभागी भएर अघि बढ्नुपर्छ भन्ने मेरो स्पष्ट मान्यता हो,’ थापाले भने।

उनले पार्टी संगठनलाई समयअनुकूल, आधुनिक र प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता पनि औँल्याएका छन्। नयाँ पुस्ताको ऊर्जा र अग्रजहरूको अनुभवलाई समन्वय गर्दै संगठनलाई थप प्रभावकारी र सुदृढ बनाउनुपर्ने उनको भनाइ छ।

‘युवाहरूको आवाज पार्टीको नीति निर्माण र निर्णय प्रक्रियासम्म प्रभावकारी रूपमा पुग्नुपर्छ। प्रविधिको बढ्दो प्रयोगसँगै पार्टीको काम गर्ने शैलीलाई पनि समयअनुकूल परिमार्जन गर्न आवश्यक भइसकेको छ,’ उनले भने।

उद्योग–व्यवसाय क्षेत्रमा सक्रिय रहँदै आएका थापाको महाधिवेशन प्रतिनिधिको उम्मेदवारीले व्यवसायिक क्षेत्रका युवालाई पार्टी संगठनसँग जोड्ने प्रयासका रूपमा समेत हेरिएको छ। ३५ वर्षमुनिको युवा समूहबाट चुनावी मैदानमा उत्रिएका थापा महाधिवेशन प्रतिनिधिका रूपमा पार्टीको आगामी संगठनात्मक प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने तयारीमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय