
काठमाडौँ — सरकारले हालै सुनसरी र सिरहामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई उचित राहत तथा घाइतेहरूलाई नि:शुल्क उपचार र क्षतिपूर्ति दिने निर्णय गरेको छ।
बुधबार आयोजित मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिनुभएको हो। बैठकले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै पीडित पक्षलाई राहत उपलब्ध गराउने निर्णय गरेको उहाँले बताउनुभयो।

सुनसरीको देवानगञ्जमा भएको प्रदर्शनका क्रममा घटनाकै दिन एक जना र उपचारका क्रममा मङ्गलबार थप एक जना गरी दुई जनाको मृत्यु भएको थियो। त्यसैगरी सिरहामा भएको छुट्टै प्रदर्शनमा पनि एक जनाको ज्यान गएको थियो।
सरकारको यो निर्णयसँगै प्रदर्शनमा घाइते भएकाहरूको सरकारी खर्चमा उपचार हुनेछ भने मृतकका परिवारले राहत रकम प्राप्त गर्नेछन्।




