काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले राष्ट्रसेवक कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको अध्यक्षतामा बिहीबार बसेको परामर्श समितिको बैठकले उक्त निर्णय गरेको हो।

निर्णयअनुसार सशस्त्र प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकले १५ दिन, नायव महानिरीक्षक र वरिष्ठ उपरीक्षकले १२ दिन, उपरीक्षक, नायव उपरीक्षक र निरीक्षकले १० दिन, जुनियर अधिकृतले ७ दिन, वरिष्ठ हवलदारदेखि जवानसम्मले ५ दिन तथा सशस्त्र प्रहरी परिचरले ३ दिनको तलब बराबरको रकम योगदान गर्नेछन्।

तर, बिओपी टिमुरे र सुरक्षा बेस मैलुङमा कार्यरत रही सोही दिनको बाढीमा परी ज्यान जोगाउन सफल भएका सशस्त्र प्रहरी कर्मचारीहरूको हकमा भने उक्त रकम कट्टा नहुने भएको छ।

मृतकका परिवारलाई तत्काल २५ लाख

बाढीमा परी मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई राष्ट्रसेवकहरूको तर्फबाट तत्काल १५ लाख रुपैयाँ उपलब्ध गराइने भएको छ। यसबाहेक ‘सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा निजको हकवाला/आश्रित परिवारलाई उपलब्ध गराउने राहतसम्बन्धी कार्यविधि, २०७९’ बमोजिम ५ लाख र ‘सशस्त्र प्रहरी बल, नेपाल विपद् प्रकोप राहत कोष सञ्चालनसम्बन्धी मापदण्ड, २०८१’ बमोजिम ५ लाख रुपैयाँ उपलब्ध गराइनेछ।

यसरी मृतक सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई तत्काल कुल २५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको छ।

त्यस्तै, मृतक कर्मचारीहरूले कल्याण कोषबाट लिएको र भुक्तानी गर्न बाँकी सम्पूर्ण ऋण मिनाहा गर्ने निर्णय गरिएको छ। उनीहरूका सन्ततिलाई पायक पर्ने नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म अध्ययनका लागि शैक्षिक शुल्क छुट दिने व्यवस्था पनि गरिएको छ।

आश्रित सदस्यको मृत्यु भए १ लाख राहत

बाढीका कारण सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्यको मृत्यु भएमा राहतस्वरूप तत्काल १ लाख रुपैयाँ उपलब्ध गराइने भएको छ।

त्यसैगरी, बाढीमा परी मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीको स्मृतिमा संगठनको तर्फबाट उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने निर्णय भएको सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिए।

मृतक सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका एक–एक जना सदस्यलाई सीपमूलक तालिम प्रदान गर्ने निर्णय पनि गरिएको छ।

ज्यान जोगाएका पाँच कर्मचारीलाई ५० हजार

सोही दिनको बाढीमा परी ज्यान जोगाउन सफल भएका पाँच जना सशस्त्र प्रहरी कर्मचारीलाई राहतस्वरूप जनही ५० हजार रुपैयाँ तत्काल उपलब्ध गराइने भएको छ।

यस्तै, बाढीबाट प्रभावित अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा १ लाख, घरबारविहीन भएमा १ लाख तथा आंशिक रूपमा भौतिक संरचना क्षति भएका वा घाइतेलाई ५० हजार रुपैयाँसम्म तत्काल राहत उपलब्ध गराउने निर्णय बैठकले गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय