काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरी जवान साजन कुँवरप्रति सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

महानिरीक्षक पौडेलले नुवाकोटको लिखु गाउँपालिका–१, बरफेदीस्थित कुँवरको निवासमा पुगेर परिवारजनसँग भेटघाट गर्दै श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्नुभएको हो।

विपद्को कठिन परिस्थितिमा नागरिकको उद्धार तथा सुरक्षाका लागि खटिएका कुँवरले कर्तव्य निर्वाहकै क्रममा ज्यान गुमाउनुपरेको घटनाप्रति महानिरीक्षक पौडेलले दुःख व्यक्त गर्नुभएको छ।

यसैगरी, उहाँले भोटेकोशी बाढीमा परी बेपत्ता भएका सशस्त्र प्रहरी सहायक हवल्दार आशिष पौडेलका परिवारजनसँग समेत भेटघाट गरी सहानुभूति व्यक्त गर्नुभएको छ।

भेटका क्रममा महानिरीक्षक पौडेलले आशिष पौडेलसहित बाढीमा परी बेपत्ता भएका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीको खोज तथा उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको जानकारी गराउनुभयो। विपद्को जोखिमबीच पनि बेपत्ता राष्ट्रसेवकको खोजीमा सशस्त्र प्रहरी निरन्तर परिचालित रहने उहाँले बताउनुभयो।

भोटेकोशी बाढीले सर्वसाधारणसँगै उद्धार तथा खोजीमा खटिएका सुरक्षाकर्मीलाई समेत जोखिममा पारेको छ। नागरिकको जीवनरक्षाका लागि अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीमध्ये केहीले ज्यान गुमाएका छन् भने केही अझै बेपत्ता छन्।

साजन कुँवरको बलिदान र आशिष पौडेलसहित बेपत्ता सुरक्षाकर्मीको अवस्थाले विपद् व्यवस्थापनमा खटिने राष्ट्रसेवकले सामना गरिरहेको जोखिमलाई थप उजागर गरेको छ। बेपत्ता सुरक्षाकर्मीको खोजीलाई तीव्र बनाउँदै परिवारजनलाई यथार्थ जानकारी उपलब्ध गराउनु अहिले राज्य र सुरक्षा निकायको महत्वपूर्ण दायित्व बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय